काठमाडौं । अमेरिका निवासी एक दम्पतीले दुइ विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने गरि छात्रवृत्ति प्रदान गरेका छन् । बारा जिल्लामा अवस्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा अध्ययनरत दुइ छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि अमेरिका बस्दै आएका यम कुमार तिमल्सिना (कन्हैया) र उनकी पत्नी रुबी बस्ताकोटीले छात्रवृत्ति प्रदान गरेका हुन् ।
तिमल्सिना सोही विद्यालयका पूर्व विद्यार्थी (२०६२ एलएलसी ब्याज) हुन् । उनले हाल कक्षा दुईमा अध्ययनरत २ छात्राहरुलाई कक्षा १२ सम्म पढाउन सहयोग गरेका हुन् । यसअघि पनि तिमल्सिनाले सोही विद्यालयका २ छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि सहयोग गरेका छन् । यसपाली थप २ जना विद्यार्थी थपिएसँगै तिमल्सिनाले सहयोग उपलब्ध गराएका विद्यार्थी संख्या ४ पुगेको छ ।
छात्रवृत्ति प्रदान सम्बन्धि तीन पक्षीय सम्झौता भएको छ । सम्झौतामा विद्यालयको तर्फबाट प्रधानाध्यपक यादव तिमल्सिना तथा लेखापाल सन्तोष बञ्जरा, तिमस्सिना दम्पतीको प्रतिनिधिका रुपमा उनका भाई घनश्याम तिमल्सिना र छात्राहरुका अभिभावकहरुले हस्ताक्षर गरेका छन् ।
तिमल्सिना दम्पतीले सम्भव भएसम्म हरेक वर्ष विद्यार्थीलाई यस प्रकारको सहयोग गर्दै जाने बताएका छन् । यस कार्यले ‘सबैलाई शिक्षा’को विश्व अभियानमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । सहयोग उपलब्ध गराएकोमा तिमल्सिना दम्पतीलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।