अर्थमन्त्री खनालको सिंगापुरका राष्ट्रपति थार्मानसँग शिष्टाचार भेट

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारातनमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए । अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताएका थिए ।

अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सहितका अधिकारीहरुसँग समेत अन्तर्क्रिया गरेका छन् । सो अवसरमा उनले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए ।

अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे । अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरुले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिंदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकिय प्रवन्धहरुमा सुधारको खाँचो रहेको बताएका थिए। प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रवन्धहरुमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार