काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा पदोन्नति भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्तिक १६ गतेदेखि लागू हुनेगरी उनलाई अधिकृत विशिष्ट श्रेणीमा बढुवा गरेको हो।
डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ एक कार्यकारी निर्देशकको पद खाली भएको थियो। सो पद पूर्ति प्रक्रियाअनुसार, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन सहित) ले तोकेको प्रावधानअनुसार संभाव्य निर्देशक (अधिकृत प्रथम) हरूमध्येबाट बढुवा गरिएको जनाइएको छ। विनियमावलीको विनियम ५२ र विनियम ६५(२) का प्रावधानअनुसार थापा छनोटमा परेका हुन्।
पदोन्नति पश्चात थापालाई गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ। यसअघि पनि उनी सोही कार्यालयमा निर्देशकका रूपमा कार्यरत थिए। अब उनी यही संरचनामा कार्यकारी निर्देशकको भूमिका सम्हाल्नेछन्।

