मनसुन नेपाल भित्रियो, यसपाली औसतभन्दा बढी पानी पर्ने

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतया जुन १३ तारिखमा नेपाल भित्रिने मनसुन यसपाली ३ दिन अगावै भित्रिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन कोशी प्रदेश हुँदै नेपाल छिरेको हो । अब क्रमिक रुपमा देशका अन्य भूभागमा मनसुन फैलिँदै जानेछ ।

नेपालमा हिन्द महासागर, बंगालको खाडी र भारतको सिक्किम हुँदै नेपालको पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गर्छ ।

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने छ । यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ ।

बढी वर्षा हुँदा बाढी तथा पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।

मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्ने गर्दछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार