काठमाडौं । रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरका शिलबन्दी बोलपत्रहरू आज सोमबार खोलिने भएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेदेखि क्यापिटलको कमलादीस्थित कार्यालयमा बोलपत्र खोल्ने कार्यक्रम तय गरिएको छ।
कम्पनीले कार्तिक २६ गतेदेखि मङ्सिर ३ गतेसम्म अवितरित १० लाख ३८ हजार ९ सय २४ कित्ता हकप्रद शेयर लिलामीमा खुला गरेको थियो। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सोभन्दा माथिको मूल्य कबुल गरी आवेदन दिनुपर्ने व्यवस्था कम्पनीले गरेको थियो। सबैभन्दा उच्च मूल्य कबुल गर्ने आवेदकले प्राथमिकता अनुसार शेयर प्राप्त गर्नेछन्, र बाँकी शेयर रहेमा क्रमशः दोस्रो उच्च मूल्य कबुल गर्नेहरूलाई बाँडफाँड गरिनेछ। यही प्रक्रियाबाट शेयर सकिने गरी वितरण हुने जनाइएको छ।
यसअघि रिभर फल्स पावरले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पूँजी बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा ७६ हजार ५ सय १७ जना आवेदकले नियमित रूपमा आवेदन दिएकोमा ५९ लाख ६१ हजार ०७६ कित्ता शेयर मात्र वितरण भएको थियो। बाँकीबचतका १० लाख ३८ हजार ९ सय २४ कित्ता शेयर नै अहिले लिलामीमा बिक्री भइ आज बोलपत्र खोलिँदै छ।

