काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।
शपथ ग्रहणपछि यादवले यही २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले तीन दिनपछि नै विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन्।
कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ।
ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते अनपेक्षित रुपमा मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवलाई सर्वोच्चले प्रदेशसभामा बहुमत सिद्ध गर्न भनेपछि उनी पदमुक्त भएका थिए। बर्दिबासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि यादव आलोचित बनेका थिए।

