काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले बिना लाभांश प्रस्ताव साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे १६ औं वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले सभाका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । त्यसका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ८ गते मंगलबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको छ । तसर्थ बुक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ७ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन् ।


