काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
आकर्षक तलबको प्रलोभनमा पारी बेलायत (यूके) पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौँ महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७ घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन्।
उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ।

