काठमाडौं । पछिल्लो चार महिनामा करिब ३ खर्बले चालु खाता बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ पहिलो चार महिनामा चालु खाता रु. २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको ‘चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु ६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु. २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।

