काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टम दुरुपयोग गरी विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विभागमै विवरण दर्ता अपरेटरको रूपमा कार्यरत सुनसरीको छिटाहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.३ बस्ने २८ वर्षीय सुनित प्रभाग रेग्मी र गोरखा घर भई हाल ललितपुर महानगरपालिका-१३ बस्ने २८ वर्षीय आशिष बाबु कुमाल रहेका छन् ।
सीआईबीका अनुसार उनीहरूले विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिका विवरणहरू हेरफेर गरेका थिए । उनीहरूले अनधिकृत रूपमा विवरण सच्याई राष्ट्रिय परिचयपत्र अप्रुभ (स्वीकृत) गराउने कार्यमा संलग्न रहेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरूलाई शनिबार ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
उनीहरूमाथि ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’ को कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

