काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २०% अर्थात, १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।
जसमध्ये, कम्पनीले जारी पुँजीको १०% अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको १०० अंकित दरको ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात, नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकाको सम्पूर्ण वडाका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गर्ने भएको छ ।
त्यसैगरी, जारी पुँजीको १०% अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रकम बराबरको १०० अंकित दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न लागेको हो ।
स्थानीयले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आयोजना स्थल, दुप्चेश्वर गाउँपालिका (साबिकको घ्याङफेदी गा.वि.स.) नुवाकोटबाट आवेदन दिन सक्नेछन् ।
साथै, ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरनिटार शाखा, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको रजिष्टर्ड कार्यालय, ट्रेडटावर थापाथलीमा वडा नं. ११, काठमाडौंबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । स्थानियले यो आइपीओमा छिटोमा पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समय भित्र माग अनुसार आवेदन नपरे माघ ८ गतेसम्मका लागि आवेदन दिन सकिनेछ ।
यता, वैदेशिक रोजगारीमा रहेकाले भने पुस १४ गतेसम्म आवेदन दिने सक्नेछन् । रोजगारीमा रहेकाले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् । यस आइपीओको बिक्री प्रबन्धकमा कुमरी क्यापिटल रहेको छ ।
कस्तो छ रेटिङको अवस्था ?
कम्पनीले क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपालबाट [CARE – NP BB- ( IS ) {Double B Minus (Issuer ) प्रमाणपत्र प्राप्त गरेको छ । जसले समयमै कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेका] (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने जनाउँदछ । सो रेटिङ्गको वैद्यता २०८३ फागुन ८ गतेसम्म रहने छ ।

कति कित्ताका लागि दिने आवेदन ?
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपीओ पाउन वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले विदेशमा रहेका नेपालीहरुका लागि ६८ हजार ९६७ कित्ता सेयर बिक्री खुला गरेको छ ।
स्थानीयलको हकमा भने आयोजना प्रभावितहरुमध्ये कतिजनाले आवेदन दिन्छ भन्नेमा भर पर्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ जेठ ३० गते नेपाल सरकार, रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको थियो । पछि आएर यो कम्पनी २०८० असार २१ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११, ट्रेड टावर, थापाथलीमा रहेको छ ।
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका (साबिकको घ्याङफेदी गा.विस. )मा रहेको छ ।
संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरुः
जलविद्युत आयोजनाको विकास, निर्माण तथा सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक स्थापना भएको हो । हाल कम्पनीमा ६०९ जना संस्थापक सेयरधनीहरु आवद्ध छन् । कम्पनीले स्थापना पश्चात् नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका (साविक घ्याङफेदी गा.वि.स.) मा अवस्थित तादी खोलाको जलस्रोत उपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यका साथ विद्युत ऐन, २०४९ अनुसार विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो ।
तत्पश्चात् आयोजना निर्माण तथा सञ्चालनका लागि २०७२ कात्तिक १८ गते नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो । उक्त अनुमतिपत्रको अवधि मिति २०७२ असोज २२ देखि २१०७ असोज २१ गतेसम्म (३५ वर्ष) कायम रहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति बिक्री गर्ने प्रयोजनका लागि २०६८ चैत ३ गते नेपाल विद्युत प्राधिकरणसँग Take or Pay प्रावधानमा आधारित विद्युत खरिद बिक्री सम्झौता (PPA) सम्पन्न गरिएको छ । सो सम्झौताअनुसार प्रारम्भमा व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ चैत १० गते तोकिएको थियो।
PPA मा भएका विभिन्न संशोधनहरूमध्ये पाँचौँ संशोधन अनुसार व्यापारिक उत्पादन शुरु गर्नुपर्ने अन्तिम मिति (RCOD) २०८१ जेठ ४ गते निर्धारण गरिएको थियो । कम्पनीले २०८२ साउन १२ गतेदेखि आयोजनाबाट पूर्ण रुपमा व्यापारिक विद्युत उत्पादन प्रारम्भ गरेको छ ।
आयोजनाबाट उत्पादित विद्युत शक्ति ७ कि.मि. लामो ३३ के.भी. प्रसारण लाइन मार्फत दुप्चेश्वर गाउँपालिका वडा नं. ६ मा अवस्थित नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सब–स्टेसन मा प्रवाह गरी राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिएको छ । हाल नेपाल विद्युत प्राधिकरणले कम्पनीसँग सम्पन्न विद्युत खरिद बिक्री सम्झौताअनुसार नियमित रुपमा विद्युत खरिद गरिरहेको छ र आयोजना सफलतापूर्वक सञ्चालनमा रहेको छ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण
कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ रहेको छ । यसको जारी पुँजी भने ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँ छ । कम्पनीको हालको चुक्ता पुँजी ५५ करोड १७ लाख ३९ हजार रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको हिस्सा १० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा १० प्रतिशत रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने ६८ करोड ९६ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोर्ने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८३—८४ मा भने ३ करोड १४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी २.३० रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९३.५२ रुपैयाँ पुग्ने प्रक्षेपण छ । कम्पनीको सञ्चित नाफा ४ करोड ४६ लाख ऋणात्मक छ । गत असोजसम्मको रिपोर्ट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ५.०८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ९६.०४ रुपैयाँ छ । यस अवधिसम्म कम्पनीको सञ्चित नाफा २ करोड १८ लाख ऋणात्मक छ ।

आइपीओ जारी गर्नुको उद्देश्य
यस कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम जारी पुँजीको २० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र सर्वसाधारणहरुको लागि बिक्री वितरण गरी कम्पनीको जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० पुर्याउनका लागि सेयर बिक्री गर्न लागेको हो ।
साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न, प्रबन्धपत्रमा तोकिए बमोजिमको पुँजी संरचना कायम गर्न, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन तथा कम्पनीले आयोजना निर्माण गर्नका लागि भुक्तान गर्न बाँकि अन्य दायित्व भुक्तान गर्नका लागि सेयर जारी गरिएको हो ।

कम्पनीको प्रति मेगावट लागत २१ करोड ५३ लाख रुपैयाँ छ । यसले सञ्चालन गरेको आयोजनाको क्षमता ११ मेगावट रहेको छ । यस कम्पनीको संस्थापक सेयरधनीमा अपि पावरको सबैभन्दा धेरै लगानी छ । अपिको यसमा ३२ लाख ९२ हजार कित्ता सेयर रहेको छ ।

