रिलायन्सको उजुरीमाथि अनुसन्धान गर्न बोर्डद्वारा समिति गठन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति गठन गरेको छ ।

त्यससम्बन्धमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले निर्देशन दिएपछि बोर्डले सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा सञ्चालकद्वय आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहेको बोर्डले जानकारी दिएको छ । बोर्ड सदस्यमा प्रतिनिधित्व गर्ने वाग्ले आइक्यानका उपाध्यक्ष हुन् भने भण्डारी बोर्डका विज्ञ सदस्य हुन्।

समितिलाई आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने अधिकार दिइएको छ। यो समितिले १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नुपर्न कार्यादेश दिइएको छ।

कमजोर वित्तीय अवस्थाका बाबजुद चर्को मूल्यमा रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ दिएको भन्दै उजुरीहरु आइरहेको भन्दै अर्थ मन्त्रालयले छानबिन गर्न निर्देशनात्मक पत्राचार गरेपछि नेपाल धितोपत्र बोर्ड दबाबमा परेको हो। अर्थको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले गत मंसिर २९ गतेको सचिवस्तरको निर्णयअनुसार पत्र लेखी ई–मेलमार्फत धितोपत्र बोर्डमा पठाएको थियो। पत्रमा रिलायन्स स्पिनिङको बुक बिल्डिङ विधिबाट आइपीओ अनुमतिमा प्राप्त उजुरी र समाचार आइरहेकोले आवश्यक कारबाही अगाडि बढाउन र त्यसको जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ।

धितोपत्र बोर्डले वित्तीय स्थितिलाई लिएर विवादित रिलायन्स स्पिनिङलाई दुई वर्षअघिको वित्तीय विवरणका आधारमा आइपीओ अनुमति दिएको आरोप लागेको छ। यो कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री पनि गरिसकेको छ भने यही पुस ७ गतेबाट सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको छ। बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेको यो आइपीओमा सर्वसाधारणले प्रतिकित्ता ८२०.८० रुपैयाँ तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार