CLI

रवि–बालेन सहमतिपछि शंकर पोखरेलले  भने  : ‘भदौ २३–२४ षड्यन्त्रको दोस्रो चरण सुरु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’बीच सहमति भएपछि नेपालको राजनीतिमा तरंग छाएको छ।

यस क्रममा एमालेका महासचिव शंकर पोखरेलले त ‘भदौ २३ र २४ गतेका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक क्रमशः सार्वजनिक हुँदै गएको’ र ‘षड्यन्त्रको दोस्रो चरण सुरु भएको’ आरोप लगाएका छन्।

यद्यपि उनले प्रत्यक्ष रूपमा प्रसंग उल्लेख गरेका छैनन्।

‘भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो। त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै छ’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदै छ।’

उनले अगाडि लेखेका छन्, ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्छ।’

Leave Your Comment

Related News