काठमाडौं । नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रियालाई थप सरलीकृत गरिएको छ। नयाँ व्यवस्था अनुसार, अब विदेशी लगानीकर्ताले विभिन्न शीर्षकमा आर्जन गरेको रकम फिर्ता लैजानका लागि इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरूबाटै सोझै विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरूलाई टेकेर ल्याइएको ‘विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति’ सम्बन्धी परिच्छेद-३ ले यो बाटो खुलाएको हो।
कुन-कुन रकम फिर्ता लैजान पाइन्छ?
सार्वजनिक भएको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले देहायबमोजिमका रकमहरू फिर्ता लैजान सटही सुविधा प्रदान गर्न सक्नेछन्:
१. विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम
२. विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश
३. उद्योग वा कम्पनी खारेजी (लिक्विडेसन) मा गएपछि सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहेको रकम
४. प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम (तर, शतप्रतिशत निकासी गर्ने बाहेकका मदिराजन्य उद्योगमा ट्रेडमार्क उपयोग बापतको रोयल्टीमा भने छुट्टै नियमावली लागू हुनेछ)
५. लिज लगानी अन्तर्गतको लिज भाडा (लिज रेन्ट) रकम
६. नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कानुनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त हर्ताना वा क्षतिपूर्ति बापतको रकम
७. विशिष्टीकृत लगानी कोष को इकाई बिक्री बापतको रकम र त्यसबाट प्राप्त मुनाफा (राष्ट्र बैंकले तोके बमोजिम)
८. प्रचलित कानुन बमोजिम फिर्ता लैजान पाउने अन्य रकमहरू

