काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब कुनै अन्योलको अवस्था नरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले पुस १९ गते आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान संकटको समाधान सर्वपक्षीय सहमतिबाट मात्र सम्भव हुने स्पष्ट पारे।
उनले सम्माननीय प्रधानमन्त्री र सरकारलाई धन्यवाद दिँदै निर्वाचनको वातावरण बनाइएकोमा प्रशंसा गरे। “अब देशमा अन्योल छैन भन्ने हामी सबैलाई लागेको छ। निर्वाचनको वातावरण बनेको छ,” उनले भने।
प्रचण्डले जेन–जी आन्दोलनले सबैलाई आत्मसमीक्षा गर्न प्रेरित गरेको उल्लेख गर्दै नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकता अनुसार अघि बढ्नुपर्ने बताए। देश गम्भीर र दुर्लभ संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यसको समाधान सर्वपक्षीय सहमतिबाटै खोज्नुपर्नेमा जोड दिए।
संविधान निर्माणका क्रममा निजी क्षेत्रलाई नेपाली मोडेलअनुसार आर्थिक विकासको आधार बनाउने भनिए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले स्वीकार गरे। अब त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
देश निर्वाचनको तयारीतर्फ अघि बढिसकेको उल्लेख गर्दै प्रचण्डले सरकारलाई धन्यवाद दिए। उनले सर्वपक्षीय सहमतिबाटै देश अघि बढ्ने वातावरण बनेको भन्दै अब कुनै अन्योलता नरहेको दाबी गरे।

