CLI

भारतीय पर्यटक बढेसँगै गुल्जार बन्दै पर्साको ठोरी

ठोरी (पर्सा) । कुनै समय पर्सा जिल्लाकै दुर्गम गाउँपालिका मानिने ठोरी पछिल्लो केही वर्षयता भारतीय तथा स्वदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। भारतको उत्तर प्रदेश र बिहारका पर्यटकको रोजाइमा पर्दै गएपछि ठोरीमा होटल, रिसोर्ट र पर्यटन पूर्वाधारमा लगानी तीव्र रूपमा बढेको छ ।

एक दशक अगाडिसम्म सडक, पूर्वाधार र सेवाको अभावले जिल्लाकै दुर्गम मानिने ठोरी गाउँपालिका अहिले पर्यटन गतिविधिको तीव्र विस्तारसँगै गुल्जार बन्दै गएको हो ।

स्थानीय रोजगारी सिर्जना, व्यापार वृद्धि र पूर्वाधार विकासका दृष्टिले ठोरी पर्सा जिल्लाकै सम्भावनाशील पर्यटकीय केन्द्रका रूपमा उभिन थालेको छ । वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणपछि पहुँच सहज भएसँगै ठोरी पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । व्यवसायीहरूका अनुसार पछिल्ला चार वर्षमा मात्र ठोरीको होटल तथा पर्यटन क्षेत्रमा ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

हाल ठोरीमा साना–ठूला गरी करिब डेढ दर्जन होटल, रिसोर्ट र रेष्टुरेन्ट सञ्चालनमा आइसकेका छन्। यसबाहेक आधा दर्जनभन्दा बढी होटल तथा रिसोर्ट निर्माणाधीन अवस्थामा छन्।

पर्यटन व्यवसायीहरूका अनुसार पहिले भारतीय पाहुनाको अनुपात करिब ९० प्रतिशत रहेकामा अहिले ७० प्रतिशत भारतीय र ३० प्रतिशत आन्तरिक नेपाली पर्यटक ठोरी आउने गरेका छन्।

कलाकार तथा युवा होटल व्यवसायी सुशान्त सिंह ठकुरीले कोरोनाकाल पछि सञ्चालनमा ल्याएको ‘द फुड स्याक’ रेष्टुरेन्टलाई विस्तार गर्दै अहिले ‘द ठोरी नेचर रिसोर्ट’ निर्माण गरिरहेका छन्। “चार वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थियौँ। पर्यटकको चाप बढेपछि सुविधासम्पन्न नेचर रिसोर्ट निर्माणमा जुटेका छौँ,” ठकुरीले भने।

ठोरी–३ स्थित आफ्नै पुख्र्यौली डेढ बिघा जग्गामा निर्माणाधीन रिसोर्टमा हालसम्म करिब ३ करोड ५० लाख रुपैयाँ लगानी भइसकेको र थप एक करोड रुपैयाँ लगानी गर्ने योजना रहेको उनले जानकारी दिए।

रिसोर्टमा सातवटा भिल्ला (कोठा), १२० जना अट्ने क्षमताको रिसेप्सन हल, स्विमिङ पुल निर्माण सम्पन्न भइसकेको छ। आगामी दिनमा स्पा, जिमलगायत थप सुविधा विस्तार गर्ने योजना रहेको ठकुरीले बताए।

वीरगञ्जका व्यवसायी जिम्दार राउत कुर्मी र धमेन्द्र पटेलले ठोरी–३ नयाबस्तीमा १ करोड २५ लाख रुपैयाँ लगानीमा ‘लड्र्स अफ ठोरी’ नामक होटल निर्माण गरेका छन् । आठ कोठा, बार र स्विमिङ पुलसहितको होटल एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको कुर्मीले बताए।

“ठोरी घुम्न आउने भारतीय पर्यटक रात बिताउन चाहन्छन्, तर स्तरीय होटलको अभाव थियो। यही सम्भावना देखेर लगानी गरेका हौँ,” उनले भने।

ठोरी अहिले बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। यहाँ राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, स्टोन पार्क, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबास लगायत करिब ५० भन्दा बढी पर्यटकीय स्थल छन्।ठोरी गाउँपालिका–२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न दैनिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। मधेश प्रदेशकै पहिलो होमस्टे सुवर्णपुरमा सञ्चालनमा छ।

ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल भएकाले वन्यजन्तु तथा जैविक विविधता अवलोकन गर्न चाहने प्रकृतिप्रेमी पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनेको छ।

भारत बिहारका जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, बेतिया, मोतिहारी, मुजफ्फरपुर र पटना लगायत सहरबाट पर्यटक ठोरी आउने गरेका छन ।यति मात्र होइ भारत युपि पश्चिमि जिल्लाका पर्यटक समेत ठोरीमा आउने गरेका छन् । व्यवसायीहरूका अनुसार सीमावर्ती क्षेत्रमा स्तरीय रिसोर्ट र प्राकृतिक सौन्दर्यको संयोजन भएकाले ठोरी भारतीय पर्यटकका लागि ‘वीकएन्ड डेस्टिनेसन’का रूपमा स्थापित हुँदै गएको छ ।

Leave Your Comment

Related News