काठमाडौं । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर मुद्दामा १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। त्यसैगरी रवीन्द्र केसीमाथि चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौँडा पेश गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।


