काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत रहने अनुमान गरिएको छ । कार्यालयले बुधबार कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रतिवेदन सार्वजनिक गर्दै पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रमौसमा सुरुपमा तीन दशमलव चार प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिए पनि सो अवधिमा वास्तविक आर्थिक वृद्धिदर दुई दशमलव नौ प्रतिशत कायम भएको थियो ।
मौसमी प्रभाव समायोजना नगरिएको तथ्यांक अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूम मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ३.०२ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
खाद्यान्न वाली, वनपैदावर, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामाग्री लगायतका उत्पादनमा देखिएको संकुचनका कारण पहिलो त्रैमासिकको वृद्धिदर सामान्य अंकमा सिमित रहेने प्रतिवदेनले जनाएको छ ।
प्रतिवेदन अनुरुप यस त्रैमासिकमा विद्युत उत्पादन तथा वितरण, वित्तिय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटन आगमन लगायतका विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएकोे छ ।
मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा १.६८ प्रतिशतले संकुचन भएको प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा गरिएका कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये १३ ओटा क्षेत्रमा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन ऋणात्मक भएको अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक र अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका
सबै १८ वटा औद्योगिक वर्गिकरणहरुको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको अनुमान छ । जसमध्ये विद्युत तथा ग्याँस सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (१४.९१%) रहेको छ भने यस क्षेत्रलाई पछ्याउँदै वित्तिय तथा बिमासम्बन्धी क्रियाकलाप, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रमा क्रमशः ७.०७ प्रतिशत र ५.५२ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १.३६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । धान वालीको उत्पादनमा भएको कमी देखिए तापनि पशुपन्छी, तरकारीबाली तथा फलफुल उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ। आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ३.८९ प्रतिशत भएको अनुमान गरिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ। त्यसैगरी, गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा कम वृद्धिदर (१.११%) पानी आपुर्ती, ढलनिकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक क्रियाकलाप र यो क्षेत्रपछिको कम वृद्धिदर (१.१९% ) मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापको रहेको छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक (वैशाख, जेठ र असार) को तुलनामा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) मा कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये पाँचवटा क्षेत्रको वृद्धिदर धनात्मक देखिएको छ भने १३ वटा औद्योगिक वर्गिकरणको वृद्धिदर ऋणात्मक देखिएको छ (तालिका २) । यस अवधिमा विद्युत तथा ग्याँस सबैभन्दा बढी ४.९५ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ ।
यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्र १.६५ प्रतिशत संकुचनमा गएको देखिन्छ । ऋणात्मक वृद्धिदर हुने १३ वटा औद्योगिक वर्गिकरणहरूमध्ये सबैभन्दा धेरै संकुचनमा खानी तथा उत्खनन् क्षेत्र ( १०.०५%) र यस क्षेत्रलाई पछ्याउँदै सार्वजनिक प्रशासन, सुरक्षा तथा अनिवार्य सामाजिक सुरक्षासम्वन्धी क्रियाकलाप ( – ५.९५%) रहेका छन् । यसरी आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासिकमा भन्दा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धिदर ऋणात्मक १.६८ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको छ।



