काठमाडौं । बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण भएको विषय खोजी गरी तथ्य बाहिर ल्याउन खोज्दा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमबाट दुष्प्रचार गरिएको भन्दै बौद्ध लामा गुरुहरूले आपत्ति जनाएका छन् । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गुठी संस्थानअन्तर्गत रहेको श्रेष्ता, लगत एवं अभिलेखअनुसार जग्गाको खोजी गरेर संरक्षण गर्न लाग्दा जग्गा अतिक्रमण गर्नेले दुष्प्रचार गरेको जानकारी दिए ।
बाबु, बाजेदेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा संरक्षण गरी बौद्ध र मेलम्ची घ्याङको पूजा एवं सांस्कृतिक परम्परा संरक्षण गर्दै आएकामा जग्गा अनियमितता भएको तथ्य खुलेपछि गुठीको स्वामित्वमा ल्याउने पहल गर्र्दा अध्यक्ष लामा र घ्याङ गुठीलाई नकारात्मक देखाउने गरी एक पक्षीय रूपमा प्रचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
“गलत प्रचार गर्नेहरूका विरुद्धमा पनि म छैन, उहाँहरूको पनि राम्रो होस्, यो गुठीको जग्गा संरक्षण गर्ने दायित्व पुस्तौँदेखि हाम्रो परिवारको हो । गुठी संस्थानले अहिले मलाई अध्यक्ष बनाएर त्यसको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ, यो जग्गामा तलमाथि गरेर यहाँको धर्म, संस्कृति मास्न पाइँदैन”, अध्यक्ष लामाले भने । घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामाको निजी सचिवालयका हरिश गोले तामाङ बौद्ध चैत्य र त्यस वरपरको जग्गा शताब्दीयौँ अघिदेखि राजगुठीको भए पनि केही व्यक्तिले अतिक्रमण गरेको बताउँछन् । त्यसको खोजी गर्न थालेपछि सरकारी गुठीको जग्गा अतिक्रमण गर्नेहरू नकारात्मक प्रचारप्रसार गर्न लागिपरेको उनले सुनाए । यससँग सम्बन्धित प्रमाण पनि घ्याङ गुठीसँग सुरक्षित रहेको अध्यक्ष चिनियाँ लामाको निजी सचिवालयले जनाएको छ ।
‘मेरो जन्म अरुका लागि’ भनी आफूले अभियान चलाएको उल्लेख गर्दै अध्यक्ष लामाले गुठीका तर्फबाट कुनै गलत काम नभएको बताए । गुठीको नाममा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धनाथ क्षेत्र विकास समितिले नापी र मालपोत कार्यालयलाई दबाब दिइरहेको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।
गुठी संस्थान पनि सरकारअन्तर्गतकै निकाय हुँदाहुँदै नेपाल सरकारकै नाममा जग्गा ल्याउने भनी अनियमितता गर्न खोजेको आरोप घ्याङ गुठीको छ । गुठी संस्थान, मालपोत र नापी कार्यालय भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत छ । धेरैजसो त धार्मिक स्थलमा बौद्धमा जस्तै द्वैध स्वामित्व हुँदा विवाद हुने र धर्म, संस्कृति एवं गुठी जग्गामा अनियमितता हुने गरेको छ । सचिवालयका अर्का सदस्य पाल्देन तामाङ खोजी भइरहेको गुठीको जग्गाका तथ्य रोक्न सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा नकारात्मक सन्देश प्रवाह गरिएको बताउँछन् ।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा गरिएका नकारात्मक प्रचारप्रसारविरुद्ध सम्बन्धित सञ्चारमाध्यममा खण्डन पठाइएको जानकारी पनि कार्यक्रममा गराइएको थियो । यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी लिएर जाने तयारीसमेत भएको त्यस अवसरमा बताइएको थियो ।


