काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् ।
उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’
उनले निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि जनाए । निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।


