CLI

सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

विगतमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आउनुभएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेको नेता निरोज कार्कीले जानकारी दिए ।थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

Leave Your Comment

Related News