CLI

सुपारी, केराउ र मरिच आयातका लागि उत्पादनमूलक उद्योगहरूसँग आवेदन माग

काठमाडौं । उद्योग विभागले सुपारी, केराउ र मरिचको आयातका लागि उत्पादनमूलक उद्योगहरूसँग आवेदन मागेको छ । विभागले औद्योगिक कच्चा पदार्थका लागि सुपारी, केराउ र मरिचको आयात गर्न आवेदन खोलेको हो ।

यसअनुसार इच्छुक उद्योगहरुले चालू आर्थिक वर्षका लागि आयात गर्न पाउनेछन् । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेसँगै आयातका लागि आवेदन माग गरेको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए ।

उनका अनुसार सरकारले पुस २७ गते राजपत्रमा सूचना प्रकाशन गर्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरिच आयातमा प्रतिबन्ध फुकुवा गरेको थियो । योसँगै आयात प्रक्रिया अघि बढेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुरुप केराउ, सुपारी, सेता मरिच र कालो मरिच आयात गर्नका लागि अनुमति दिँदा उद्योग विभागबाट देहायका विषयमा आवश्यक आवश्यक जाँचबुझ तथा औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता एवं औचित्य र आयात गर्न आवश्यक परिमाणको साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रूपमा मात्र सदुपयोग भएको सुनिश्चितता उद्योग विभागबाट हुने गरी सम्बन्धित उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएका मालवस्तु पैठारीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्नुपर्ने रहेको थियो । सोहीअनुरूप विभागले प्रक्रिया अघि बढाएको हो ।

सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुरूप उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रूपमा केराउ (एच. एस. कोड ०७१३.१०.१०), सुपारी (एच.एस. कोड ०८०२.८०.००) सेतो मरिच (एच.एस. कोड ०९०४.११.२०) र कालो मरिच (एच. एस. कोड ०९०४.११.३०) आयात गर्न दिइनेछ । नयाँ स्थापना भएका उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, चालू आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणालगायतका विवरण आवश्यक पर्नेछ । विगतदेखि सञ्चालनमा रहेका उद्योगको हकमा भने उद्योग दर्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक भएको पत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्छ । साथै उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालू आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ पैठारी गरेको भए पैठारीको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाणलगायतका विवरण बुझाई करोउ, सुपारी, सेता मरिच र कालो मरिच आयात गर्न सकिनेछ ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (२) बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) बाट आर्थिक वर्ष २०८२/८३ को लागि सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने निर्णय भएको थियो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड ६९. संख्या ५२ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाको उपदफा (२) बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) बाट आर्थिक वर्ष २०८२/०८३ को लागि सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने निर्णय भएको थियो ।

पछिल्लो समय २०७८ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘सुपारी केराउ, मरिच, पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर उद्योगको कच्चा पदार्थको रूपमा आयातको बाटो खोलेको थियो । त्यसअघि २०७७ चैतमा वाणिज्य विभागले आवेदन माग गर्दै अन्तिम पटक व्यापारिक प्रयोजनका लागि भन्दै परिमाण तोकेर केरोउ, सुपारी र मरिच आयात खुला गरेको थियो ।

Leave Your Comment

Related News