CLI

सहकारीका एकभन्दा बढी शाखा बन्द गर्न सरकारको निर्देशन, सहकारी संघसंस्थाको आपत्ति

काठमाडौं । सरकारले एकभन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन दिएको छ । सहकारी विभागले राष्ट्रिय सहकारी महासङ्घ तथा विषयगत केन्द्रीय सङ्घलाई पत्र लेख्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

६ बुँदे निर्देशनमा एक भन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गराउन भनिएको छ । निर्देशनमा सहकारी संस्थाले कुनै कम्पनी वा सङ्गठित संस्थालाई सदस्य बनाउन नपाउने तथा प्राकृतिक व्यक्ति मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ ।

त्यस्तै, एकै व्यक्तिलाई एउटा वा एक भन्दा बढी तमसुकबाट दिइने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्न निर्देशन दिइएको छ । यसका साथै, बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्रयोगका लागि बाहेक बिक्री गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न नपाउने भएका छन् ।

बचत तथा ऋण सहकारी संस्थाहरूले एकै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशत भन्दा बढी गर्न नपाउने र कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र हुने गरी लगानी गर्न निर्देशन दिइएको छ । शाखा बन्द गर्ने निर्देशनप्रति सहकारी सङ्घ संस्थाले विरोध गरेका छन् ।

अनुमति लिएर सञ्चालनमा रहेका शाखा तत्काल बन्द गर्न निर्देशन दिनु उपयुक्त नहुने उनीहरुको तर्क छ ।

.नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) ले स्वीकृत तथा वैध रूपमा सञ्चालनमा रहेका शाखाहरूलाई नीतिगत निर्णयका नाममा एकपक्षीय रूपमा बन्द गरिनु कानूनी सुनिश्चितता, प्रशासनिक निरन्तरता र सुशासनका सिद्धान्तसँग मेल नखाने बताएको छ ।

Leave Your Comment

Related News