काठमाडौं । राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदैछ । आउँदो फागुन २० गतेबाट राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थान पूर्तिका लागि मदतान हुन लागेको हो ।
एकजना निर्विरोध निर्वाचित भइसकेको र १ जना मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने भएकाले १७ सिटका लागि मतदान हुन लागेको हो । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नु पर्ने व्यवस्था छ ।
जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गरिनेछ । मतदान प्रदेश राजधानीमा हुनेछ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ र मतदान सकिएलगत्तै गणना थाल्ने तयारी निर्वाचन आयोगले गरेको छ ।


