CLI

निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले विगत केही दिनयता एकअर्काप्रति लगाइएका आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता निम्त्याउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएको हो ।

विज्ञप्तिमा विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यसले अरूको मर्यादामा चोट पुर्याउने र शान्ति सुरक्षामा आँच पुर्याउन नहुने उल्लेख गरिएको छ।

घृणाजन्य अभिव्यक्तिले निर्वाचनको समयमा सुरक्षा चुनौती थप्ने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने आयोगको ठहर छ। आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार र सामाजिक सद्भावप्रति सधैँ ध्यान पुर्याउन जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरिएको छ ।

आयोगले राजनीतिक दलका नेता, उम्मेदवार र सर्वसाधारणलाई सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित हुन तथा मानव अधिकारमैत्री भाषा मात्र प्रयोग गर्न आग्रह गरेको छ । घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आयोगले निर्देश गरेको छ।

Leave Your Comment

Related News