CLI

भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा, गैरकानुनी रुपमा करोडौं कमाएको आरोप

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट श्रीमती लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको पाइएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई समेत प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

आयोगले आचार्य र उनका एकाघर परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र आयआर्जन गरेको देखिएको जनाएको छ । तर आय, व्यय तथा बैंक मौज्दातको मूल्यांकन गर्दा स्रोत पुष्टि हुन नसक्ने गरी अस्वभाविक रूपमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्ति बढी देखिन आएको आयोगको ठहर छ ।

वैधानिक आयभन्दा कूल व्यय अत्यधिक देखिएको र त्यसको स्रोत खुल्न नसकेपछि आचार्य र सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ ।

Leave Your Comment

Related News