CLI

रोस्टरको अवधि बढाउन माग गर्दै इपिएस परीक्षा पास गरेकाहरूको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । दुई वर्षअघि ईपीएस प्रणालीमार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवाहरूले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

भाषा तथा सीप परीक्षण पास गरे पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आन्दोलनरत युवाकाअनुसार विगत ७ महिनादेखि निरन्तर आन्दोलन गर्दै आए पनि सम्बन्धित निकायले समस्या समाधानतर्फ कुनै ठोस पहल नगरेको गुनासो गरेका छन् ।  युवाहरूले यसअघि ग्वार्कोस्थित इपिएस कार्यालयमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले शीघ्र रोजगारी प्रक्रियालाई अगाडि बढाउन र रोस्टरमा रहेका युवालाई कोरिया पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट नाम हट्ने र रोजगारीका लागि कोरिया जान पुनः फेरि भाषा परीक्षामा सामेल भएर नयाँ जसरी उत्तीर्ण हुनुपर्ने प्रावधान छ ।

सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय कोटा तोकेकोमा एक लाखभन्दा धेरै युवा आवेदन दिएर पर्खिरहेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा मात्रै हाल १२ हजारभन्दा धेरै रहेको बताइएको छ । प्रदर्शनमा उत्रिएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने माग राखेका छन् ।

Leave Your Comment

Related News