CLI

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए ।

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडाहरू दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।

पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्रीहरू बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपाली बताउँछन् । नयाँ पुस्ताहरू बिस्तारै गाउँ छोडेर सहर झर्ने, विदेश जाने र पुराना पुस्ताहरू बिस्तारै उमेरसँगै सकिँदै जान थालेपछि यस्तो समस्या आएको उनले बताए । परम्परागत पेसा र पुराना सामग्रीहरूको संरक्षण गर्नका लागि स्थानीय पालिकाहरूले खासै चासो देखाएका छैनन् । पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नदिएको चुँदारा समुदायको गुनासो छ ।

परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन । बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरू झट्ट देख्दा आकर्षक र राम्रा र चिटिक्क देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरूको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका लागि पालिकाहरूले थप सहयोग पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरूको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रूपमा उक्त पेसा गर्दै आएका व्यवसायीहरूले पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउन समेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि बोकेर गाउँगाउँमा डुलाउँदा कहिलेकाहीँ बिक्री नहुँदा त्यत्तिकै फर्कनु परेको छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे ।

काठबाट निर्मित भाँडाको महत्वको बारेमा जानकारी नभएका कारण पछिल्लो समयमा चुँदारा समुदायको पेसा सङ्कटमा परेको हो । गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा आकारअनुसार रु ७०० देखि रु सात हजारसम्म पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा भने फाट्टफुट्ट रूपमा यस्ता प्रकारका सामग्रीहरू बिक्रीका लागि राखिने गरिन्छ ।

Leave Your Comment

Related News