CLI

धितोपत्र बोर्डमा कर्मचारी पलायन बढ्दो, एक वर्षमै सात जनाले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारी पलायनको क्रम बढ्दै गएको छ। पछिल्लो एक वर्षको अवधिमा मात्रै बोर्डका सात जना कर्मचारीले जागिर छाडेका छन्। बोर्ड स्रोतका अनुसार गएको माघ महिनादेखि हालसम्म ती कर्मचारीहरुले राजीनामा दिएका हुन्।

बोर्डका एक अधिकारीका अनुसार अन्य क्षेत्रमा तुलनात्मक रुपमा राम्रो सेवा सुविधा, करिअर विकास र अवसर देखिएकै कारण कर्मचारीहरुले राजीनामा दिएको बताइएको छ। “धितोपत्र बजार संवेदनशील र प्राविधिक क्षेत्र हो। तर यहाँको सेवा सुविधा र प्रोत्साहन पर्याप्त नहुँदा दक्ष जनशक्ति टिकाइराख्न कठिन भइरहेको छ,” ती अधिकारीले भने।

पुराना कर्मचारीहरुलाई कामको प्रकृति, नियमकानुन र प्रक्रियाबारे राम्रो जानकारी भइसकेको हुन्छ। तर उनीहरु बाहिरिँदा नयाँ कर्मचारीलाई पुनः तालिम दिनु पर्ने भएकाले समय, स्रोत र कार्यक्षमतामा असर पर्ने बताइएको छ। यसले बोर्डको नियामकीय काम, नीतिगत निर्णय र बजार अनुगमनमा ढिलाइ हुने जोखिम पनि बढाएको छ।

यतिबेला बोर्डभित्र कर्मचारी असन्तुष्टि समेत चुलिँदै गएको छ। सेवा सुविधा र कर्मचारी कल्याण कोषसम्बन्धी विषयलाई लिएर कर्मचारीहरु आन्दोलनरत अवस्थामा छन्। उनीहरुले लामो समयदेखि यी मागहरु उठाउँदै आए पनि सरकारले ठोस निर्णय नगरेको गुनासो गर्दै आएका छन् ।

बोर्डका कर्मचारीहरुका अनुसार यदि सरकारले चाँडै नै कर्मचारी हितमा स्पष्ट र सकारात्मक निर्णय गरेन भने आगामी दिनमा अझ धेरैले जागिर छाड्ने सम्भावना उच्च छ । यसले बोर्डको कार्यसम्पादन थप कमजोर बनाउने कर्मचारीहरुको आशंका छ।

बोर्डमा कार्यरत अधिकांश कर्मचारीहरु उच्च शैक्षिक योग्यता हासिल गरेका छन् । धेरैजसो कर्मचारीहरुले स्नातकोत्तर तह (मास्टर्स) सम्मको अध्ययन पूरा गरिसकेकाले उनीहरुलाई बैंक, वित्तीय संस्था, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थामा राम्रो अवसर प्राप्त हुने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

पुँजी बजारको नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डमा दक्ष र अनुभवी जनशक्ति अत्यन्तै आवश्यक मानिन्छ । तर बढ्दो कर्मचारी पलायन र आन्तरिक असन्तुष्टिले बोर्डको दीर्घकालीन प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । अब सरकारले समयमै ध्यान नदिएमा धितोपत्र बजारको नियमन र विकासमा समेत नकारात्मक असर पर्ने सरोकारवालाहरुको चेतावनी छ।

Leave Your Comment

Related News