काठमाडौं । गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ ।
संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । आचारसंहिताको दफा ३ को (ज)मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ ।
संस्थानले माघ ९ गते बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको उनको सचिवालयका हरिश गोले तामाङले जानकारी दिए । संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो ।
आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा परेका उजुरीको छानबिन गरी अहिले विभिन्न राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र संस्था गरी अहिलेसम्म आयोगले १५ स्पष्टीकरण सोधिसकेको सहायक प्रवक्ता जिसीले बताए ।


