CLI

युक्रेनको परमाणु सुरक्षाबारे अन्तर्राष्ट्रिय निकायको बैठक

भियना । युक्रेनमा देखिएको परमाणु सुरक्षासम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकाय बोर्डले शुक्रबार बैठक बस्ने भएको छ। रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता त्यहाँको ऊर्जा संरचना पटक–पटक क्षतिग्रस्त हुँदै आएको छ।

यसले युक्रेनका परमाणु विद्युत् उत्पादन केन्द्रहरूमा आवश्यक विद्युत् आपूर्तिमा समस्या सिर्जना गरेको छ र सम्भावित परमाणु दुर्घटनाको चिन्ता बढाएको छ। यस अवस्थाप्रति चिन्ता जनाउँदै नेदरल्यान्ड्सको नेतृत्वमा १३ देशले युक्रेनको पछिल्लो अवस्था र त्यसले परमाणु सुरक्षामा पार्ने असरबारे छलफल गर्न बोर्ड बैठक बोलाउन आग्रह गरेका थिए।

ती देशहरूले जनवरी २१ गते पठाएको पत्रमा युक्रेनको वर्तमान परिस्थितिले परमाणु सुरक्षामा गम्भीर र तत्काल जोखिम उत्पन्न गरिरहेको उल्लेख गरेका छन्। पत्रमा हालका आक्रमणले ऊर्जा पूर्वाधारमा थप क्षति पुर्‍याएको र यो परमाणु केन्द्रहरूको सुरक्षित सञ्चालनका लागि अत्यावश्यक रहेको बताइएको छ।

गत साता चेर्नोबिल परमाणु विद्युत् केन्द्र केही समयका लागि बाह्य विद्युत् आपूर्तिबाट पूर्ण रूपमा विच्छेद भएको थियो। यस्तै, मार्च २०२२ देखि रुसी सेनाको नियन्त्रणमा रहेको जापोरिज्झिया परमाणु विद्युत् केन्द्र पनि द्वन्द्वको प्रत्यक्ष असरमा परेको छ।

जापोरिज्झिया केन्द्रका सबै रिएक्टर बन्द अवस्थामा रहे पनि शीतलन प्रणाली र सुरक्षा संयन्त्र सञ्चालनका लागि निरन्तर विद्युत् आपूर्ति आवश्यक रहने विज्ञहरूले बताएका छन्। यसै कारण क्षतिग्रस्त वैकल्पिक विद्युत् लाइन मर्मत गर्न यसै महिनाको सुरुआतमा रूस र युक्रेनबीच सीमित क्षेत्रीय युद्धविराम गरिएको थियो।

यसबीच, रूस र युक्रेनले एक–अर्कामाथि परमाणु दुर्घटनाको जोखिम बढाउने गतिविधि गरेको आरोप लगाउँदै आएका छन्। अन्तर्राष्ट्रिय समुदायले स्थिति थप जटिल नबनाउन संयमता अपनाउन आग्रह गरेको छ। —

Leave Your Comment

Related News