CLI

पतञ्जलि जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । अख्तियारबाट नेपालको मुद्दा अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल आएसँगै आइतबारका लागि पेसी तोकिएको हो ।

जेठ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको थियो।

अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालसहित तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विधेयक समितिका संयोजक प्रेम बहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मन्त्रिपरिषद्का सचिव स्व.माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरेलाई प्रतिवादी बनाएको  हो।

त्यस्तै अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिवहरू छविराज पन्त, जीतबहादुर थापा र लालमणि जोशी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिवहरू कलानिधि पौडेल, गान्धी प्रसाद सुवेदी र हपेन्द्रमणि के।सी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशव बहादुर बानियाँ, उपसचिव तथा शाखा अधिकृतहरू राजाराम थापा, सीताराम पोखरेल र वुद्धि बहादुर कार्कीलाई प्रतिवादी बनाएको हो।

Leave Your Comment

Related News