काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेण्ट उद्योग लिमिटेड, प्रधान कार्यालय, जलजले, उदयपुरका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेलसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याइ भ्रष्टाचार गरेको भन्दै भ्रष्टचार मुद्धा दायर गरेको छ ।
पौडेल सहित तत्कालीन निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफले, तत्कालीन महाशाखा प्रमुख संजय कुमार लाल, महेश प्रसाद साह, रवीचन्द्र पौडेल, हरि प्रसाद अधिकारी र राम बहादुर जी.सी विरुद्ध अख्तियारले भ्रष्टचार मुद्धा दायर गरेको हो ।
अख्तियारले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए ।
पौडेल सहित ८ जनाको मिलेमत्तोमा कम क्लिङ्कर भित्राई बढी भुक्तानी दिई सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याइ भ्रष्टाचार गरेको आरोप अख्तियारको रहेको छ । अख्तियारले सार्वजनिक सम्पत्ति हानि नोक्सानी पु¥याएको भन्दै तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेललाई १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा, निमित्त महाप्रवन्धक नवल किशोर साहलाई ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा, नायव महाप्रवन्धक महेश प्रसाद काफले १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाा ३१ पैसा बिगो र कानुनसम्वत कैद माग गर्दै मुद्धा दायर गरेको हो ।
त्यस्तै अख्तियारले उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन कलिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख राम बहादुर जी.सीलाई पनि ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बिगो र कानुनसम्वत रुपमा कैद माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । अख्यितारले ८ जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरजन्य कार्य भएकोले आवश्यक बिगो कायम गरी ऐ. ऐनको दफा १७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिमको जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
प्रवक्ता न्यौपानका अनुसार तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल सहित ८ जनाको मिलेमत्तोमा विभिन्न मितिमा कम क्लिङ्कर भित्राई बढी भुक्तानी दिइएको छन् ।
आर्थिक वर्ष २०७६/ ७७ मा वार्षिक मौज्दात विवरणमा क्लिङ्कर ५०,९७५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति २०७७/९/१६ मा पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट ३९,४५० मेट्रिक टन क्लिङ्कर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त आर्थिक वर्षमा जम्मा ११,५२५ मेट्रिक टन वास्तविक हुनपर्ने भन्दा अश्वभाविक घटी मौज्दात देखिएको थियो ।
आ.व. २०७६/७७ सम्म घटी देखिएको ११,५२५ मेट्रिक टन क्लिङ्करबाट आ.व. २०७५/७६ मा घटी देखिएको १०,२०० मेट्रिक टन घटाउँदा आ.व. २०७६/७७ मा मात्र १,३२५ मेट्रिक टन क्लिङ्कर घटी रहेको देखिएको र उक्त क्लिङ्करको लागत मूल्य १२ हजार २६१ रुपैयाँ ६७ पैसा प्रति मेट्रिक टन रहेको देखिएबाट आर्थिक वर्ष २०७६/७७ मा मात्र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा प्रतिवादीहरूको आपसी मिलेमतो तथा योजनामा बदनियत राखी वास्तविक हुन पर्ने मौज्दात भन्दा अस्वाभाविक घटी देखिएको १,३२५ टन क्लिङ्करको .१ करोड ६२ लाख ४६ हजार ७१२ रुपैयाँ ७५ पैसा रकम वरावरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य स्थापित भएको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले मिति २०७७ पौष मसान्तमा मौज्दात विवरणमा क्लिङ्कर ५५,३८५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति २०७७/१०/१३ मा पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट १७,७४५ मेट्रिक टन क्लिङ्कर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त समय सम्ममा जम्मा ३७,६४० मेट्रिक टन वास्तविक हुनपर्ने भन्दा अश्वभाविक घटी मौज्दात देखिएको, उक्त परिमाणमा आ.व. २०७६/७७ सम्म घटी देखिएको ११,५२५ मेट्रिक टन घटाउँदा मिति २०७७ साउन १ गते पौष मसान्त सम्ममा मात्र २६,११५ मेट्रिक टन क्लिङ्कर घटी रहेको देखिएको, उक्त क्लिङ्करको लागत मूल्य १२ हजार ४१८ रुपैयाँ ३६ पैसा प्रति मेट्रिक टन रहेको देखिएबाट वास्तविक हुन पर्ने मौज्दात भन्दा अस्वाभाविक घटी देखिएको २६, ११५ टन क्लिङ्करको ३ करोड २४ लाख ३० हजार ५४७ रुपैयाँ १४ रकम वरावरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य स्थापित भएको छ ।


