काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार हजार १७७ जनालाई नागरिकता प्रदान गरिएको छ ।
जिल्लाका सबै १३५ वडाबाटै एकसाथ अनलाइनबाट नागरिकता सिफारिस सुरु गरिएको हो । नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा अनलाइन सिफारिस गर्नुअघि वडाहरूले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरेर पेस गर्छन् । तिनै कागजात र अनलाइनबाट प्रिन्ट भएको सिफारिससहित सेवाग्राही नागरिक जिल्ला प्रशासन कार्यालय पुगेर सोही सिफारिसका आधारमा द्रुतगतिमा नागरिकले सेवा लिन्छन् ।
यस्तै वडाले अपलोड गरेको फाइल कोडका आधारमा व्यक्तिको ‘इन्ट्री’ गरेलगत्तै वडाबाट भरेको विवरणका आधारमा नागरिकता प्रिन्ट हुन्छ । सनाखत गर्नेको पूर्ण विवरण पनि त्यही लोड गरिएको हुन्छ । त्यसका अलावा जिल्ला प्रशासन कार्यालय आफैँले पनि ती कागजातलाई स्क्यान गरेर अर्काे अभिलेख बनाउँछ र डिजिटलाइजेसनपछि कागजातलाई सुरक्षित राख्छ । अनलाइन सिफारिसका कारण एउटै काम फरकफरक निकायले पटकपटक गर्नुपर्ने अवस्थाको अन्त्य हुँदा विवरणमा एकरुपता र झन्झटिलो अवस्थाबाट नागरिक मुक्त हुने भएका छन् । झुटो विवरण पेस गरी नागरिकता लिनेलाई भने यो प्रणालीले निकै सकस बनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन सिफारिसका कारण व्यक्तिको विवरण सुरक्षित र कम त्रुटि भएका अभिलेख डिजिटलाइज भएका हुन् । “अभिलेखका लागि राखिएका कागजात सुरक्षित रहन्छन् र समयको बचत पनि भएको छ”, उनले भने । सेवामा द्रुतगति भएको, अभिलेखमा त्रुटि कम र विश्वास धेरै भएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायत सेवामा नागरिकलाई झन्झटरहित बनाउने प्रयास गरिएको बताए ।


