जनकपुरधाम । एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माणककार्य सुरु भएको छ । मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा सो नदीको उत्खनन तथा विकास निर्माण कार्य सुरु भएको हो ।
मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले सो नदीको पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी बहाव क्षेत्रमा कार्य हुने जानकारी दिए । सो मन्त्रालयको दूधमति नदीको विकास कार्यक्रमअन्तर्गत उक्त नदीको सौन्दर्यकरण, घाट निर्माण र मर्मतसम्भार, बाँध निर्माण, सडक निर्माण तथा सिँचाइका सुविधा पु¥याउनेलगायतको कार्य हुने बताइएको छ । उक्त नदी उत्खनन तथा विकासको ठेक्का वछालदेवी जेभी काठमाडौँले एक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको मन्त्रालयले जनाएको छ ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा सो उत्खननका साथै अतिक्रमण हटाउने विषयमा बजेट विनियोजन भएको थियो । साथै तत्कालीन प्रदेशका पूर्वऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको विशेष पहल तथा सक्रियतामा बजेट विनियोजन भएको थियो । विभिन्न धार्मिकग्रन्थमा समेत पवित्र नदीको रुपमा वर्णन गरिएको यस नदीमा स्नान तथा पूजाआजाको लामो परम्परा रहिआएको छ ।


