CLI

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस आदेश दिएको हो।

अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले आदेशको कारण अंग्रेजी शब्दको प्रयोगले नेपाली मौलिकता र पहिचानमा नकारात्मक असर पार्ने सम्भावना रहेको जनाएको छ। आदेशसँगै अब सबै सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिमा आधारित नेपाली अक्षर र अंक अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था कायम हुनेछ।

अधिवक्ता राउतले अन्तरिम आदेशलाई सकारात्मक संकेतको रूपमा स्वागत गर्दै यसलाई “नेपाली पहिचान र संवैधानिक अधिकारको पुनःस्थापना” भएको बताए। यस निर्णयपछि देवनागरी लिपीलाई विस्थापित गर्दै अंग्रेजीमा मात्र नम्बर प्लेट निर्माण गर्ने योजना कार्यान्वयन हुन सक्ने छैन।

Leave Your Comment

Related News