CLI

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका सिकाउन, मतपत्र बदर हुन नदिन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको हो ।

निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए । “यो कार्यक्रमले मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुनुका साथै कर्मचारी व्यस्थापनमा सहजता हुने विश्वास गरिएको छ ।

कार्यक्रम जिल्लाका दश वटै स्थानीय तहमा सञ्चालन हुन्छन्”, उनले भने, “नमूना मतदान अभ्यास कार्यक्रममा निर्वाचन प्रहरीको भूमिकाका विषयमा पनि जानकारी गराइन्छ । यसले आगामी निर्वाचन सफल बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा सहभागीलाई महिला/पुरुष छुट्टाछुट्टै लाइनमा राखेर मतदानको व्यवस्था गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको उक्त अभ्यास कार्यक्रममा ३५ महिला र २७ जना पुरुषको सहभागिता छ ।   प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ मतदानस्थल निर्धारण गरिएको छ । तीमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् । आगामी निर्वाचनका लागि निर्धारण गरिएका १३६ मतदानस्थलमा १९५ वटा मतदान केन्द्र रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनमा एक लाख ४७ हजार १२० जना मतदाता मतदानका लागि योग्य रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन तथा कारबाही गर्नका लागि दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन तथा कारबाही गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा क्याप, टिसर्ट, ज्याकेटलगायत लगाए/नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए/नभएको विषय अनुगमन गर्नेछन् ।

निर्वाचन आचारसंहिताअनुसार सवारी साधनको प्रयोग भए/नभएको, घोषणापत्र सार्वजनिक गरे/नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैरसरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए/नलिएको, निर्वाचन खर्चका लागि बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे/नगरेको लगायतका विषयमा अनुगमन गर्ने जनाइएको छ ।

आगामी निर्वाचनका लागि नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादीबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave Your Comment

Related News