CLI

भ्रष्टाचार मुद्दामा तीन पूर्वसचिवसहित ५ जना साधारण तारेखमा रिहा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा तीन पूर्वसचिवसहित पाँच जना साधारण तारेखमा रिहा भएका छन् । सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले पूर्वसचिवहरू मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मासहित रामचन्द्र सुवेदी र प्रेमनाथ उपाध्यायलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

मरासिनी अर्थ मन्त्रालयका तत्कालीन सहसचिव, सुवेदी नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक र शर्मा अर्थ मन्त्रालयका तत्कालीन सचिव हुन् । उपाध्याय अर्थ मन्त्रालयका उपसचिव, सापकोटा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव हुन् । उनीहरूले मिलेमतोमा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार दुई सय ९७ रुपैयाँ ५० पैसा बदनियतपूर्वक राज्यलाई नोक्सानी पु¥याएको अख्तियारको आरोप थियो । यसले स्वीकृत अनुमानभन्दा अस्वाभाविकरूपमा लागत बढाएको आरोपपत्रमा उल्लेख छ ।

उनीहरूलाई जनही उक्त रकम बिगो कायम गरिए पनि अदालतमा आरोप अस्वीकार गरेका छन् । अदालतले आदेशमा आरोपीहरू मन्त्रालयका बैठकमा सहभागी भएको देखिए पनि खरिद सम्झौताका अन्य प्रक्रियामा सहभागी रहेको भन्ने खुल्न नआएको उल्लेख छ । पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै अहिले पाँचै जनालाई साधारण तारेखमा रिहा गर्ने अदालतको आदेश छ ।

आयोगले तत्कालीन मन्त्रीहरू स्वर्गीय पोष्टबहादुर बोगटीसहित रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, रामशरण महतलगायत प्रतिवादी कायम गर्दै गत मंसिर २२ मा ५५ जना र एउटा कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो ।

Leave Your Comment

Related News