CLI

मध्यपूर्व तनाव चुलिँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि, विश्व बजारमा अनिश्चितता

काठमाडौं । अमेरिका र इजरायलले इरान माथि व्यापक सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रुपमा उकालो लागेको छ । उक्त हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको विवरण सार्वजनिक भएसँगै मध्यपूर्वमा तनाव चरममा पुगेको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन १.३५ प्रतिशतले बढेर प्रति औंस ५,३५० डलर (साढे ८ बजे) पुगेको छ, जुन ४ साताभन्दा बढी समययताकै उच्च स्तर हो । कारोबारको सुरुवाती सत्रमै मूल्य करिब २ प्रतिशतसम्म उक्लिएको थियो । अमेरिकी सुन फ्युचर्स पनि १.८ प्रतिशतले बढेर प्रति औंस ५,३४२.८० डलरमा कारोबार भएको छ।

आइतबार इजरायलले तेहरानमा नयाँ चरणको हवाई आक्रमण थालेको थियो भने त्यसको प्रत्युत्तरमा इरानले मिसाइल आक्रमण तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो घटनाक्रमले मध्यपूर्व मात्र नभई विश्व अर्थतन्त्रमा समेत गहिरो अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ ।

वित्तीय बजार विश्लेषक काइल रोड्डाले क्यापिटल डटकम मार्फत दिएको प्रतिक्रिया अनुसार, “यसपटकको तनाव अघिल्लाभन्दा फरक छ। दुवै पक्ष थप आक्रामक बन्ने सम्भावना बलियो देखिन्छ, जसले विश्व बजारलाई केही दिनभन्दा बढी समय अस्थिर बनाउन सक्छ। यस्तो अवस्थामा सुनका लागि वातावरण सकारात्मक रहन्छ।”

सुरक्षित लगानी (सेफ हेभेन) को रूपमा हेरिने सुन यस वर्ष विश्वव्यापी राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण निरन्तर नयाँ रेकर्डतर्फ उकालो लागेको छ। सन् २०२५ मा मात्रै सुनको मूल्य ६४ प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय बैंकहरूको उच्च खरिद, एक्सचेन्ज–ट्रेडेड फन्ड (ETF) मा बढ्दो लगानी प्रवाह तथा अमेरिकी मौद्रिक नीतिमा सहजताको अपेक्षाले मूल्य वृद्धिलाई थप टेवा दिएको छ।

गत साता J.P. Morgan र Bank of America ले सुनको मूल्य ६,००० डलरको मनोवैज्ञानिक स्तर नजिक पुग्न सक्ने प्रक्षेपण दोहोर्‍याएका थिए। जेपी मोर्गनले सन् २०२६ को अन्त्यसम्म प्रति औंस ६,३०० डलरसम्म पुग्न सक्ने अनुमान गरेको छ।

यसबीच अमेरिकामा उत्पादक मूल्य सूचकाङ्क अपेक्षाभन्दा बढी बढेको तथ्यांक सार्वजनिक भएको छ, जसले आगामी महिनाहरूमा मुद्रास्फीति चाप बढ्न सक्ने संकेत गरेको छ। लगानीकर्ताहरूले यस साता अमेरिकी श्रम बजारसम्बन्धी प्रमुख प्रतिवेदनहरूलाई नजिकबाट नियालिरहेका छन्।

अन्य बहुमूल्य धातुहरूतर्फ भने मिश्रित कारोबार देखिएको छ।  चाँदी ०.१२ प्रतिशतले बढेर प्रति औंस ९३.९५ डलरमा छ।

 

Leave Your Comment

Related News