साढे एक अर्बको कोष व्यवस्थापन गर्ने अनुमति माग्दै दुई कोष व्यवस्थापक सेबोन पुगे

काठमाडौं । दुई कोष व्यवस्थापकले साढे एक अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड र ग्लोबल इक्विटी फण्डले कोष व्यवस्थापन गर्न नियामक सेबोनमा आवदेन दिएका हुन्।

नेशनल फण्ड म्यानेजमेन्टले ५० करोड रुपैयाँको नेशनल हाइड्रो फण्ड–२ जारी गर्न सेबोनसँग अनुमति माग गरेको छ। यस कोषको अवधि १० वर्ष रहेको छ। कम्पनीले विभिन्न जलविद्युत परियोजनामा लगानी गर्न सेबोनसँग अनुमति माग गरेको हो।

ग्लोबल इक्विटी फण्डले एक अर्ब रुपैयाँको नेपाल इम्प्याक्ट ग्रोथ फण्ड जारी गर्न नियामक सेबोनमा आवेदन दिएको छ। कम्पनीले उक्त रकम बराबरको कोष ५ वर्षका लागि व्यवस्थापन गर्न अनुमति माग गरेको हो। कम्पनीले उक्त कोषबाट ६ क्षेत्र क्लिन इनर्जी, उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र सेवा लगानी गर्ने योजना बनाएको छ।

ग्लोबल इक्विटी फन्डले एक अर्बको लगानी फन्ड ल्याउँदै, ६ क्षेत्रमा लगानी गर्नेः कार्यकारी निर्देशक डा. मनिष थापाको अन्तरवार्ता

नेशनल फण्ड म्यानेजमेन्टले यस अघि ७ अर्ब रुपैयाँको नेशनल इक्विटी फण्ड–१ को अनुमति प्राप्त गरिसकेको छ। कम्पनीले २०८० असोज ४ गते १० वर्षका लागि कोष व्यवस्थापनको स्वीकृति पाएको हो। कम्पनीले हाल उक्त कोषका लागि आवश्यक रकम संकलन गरिरहेको छ। कम्पनीहरुले कोष जारी गर्न नियामकबाट अनुमति प्राप्त गरेको दुई वर्ष भित्रमा रकम जम्मा गर्नु पर्ने हुन्छ। कम्पनीहरुले दुई वर्षको अवधिमा जति रकम संकलन गर्छन् सोही रकमको आधारमा लगानी गर्नु पर्ने हुन्छ।

सेबोनबाट एसआईएफ अन्तर्गत लाइसेन्स प्राप्त गर्ने पहिलो कम्पनीको रुपमा ग्लोबल इक्विटी फण्ड रहेको छ। तर कम्पनीले पहिलो पटक कोष व्यवस्थापनको अनुमति माग गरेको हो।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले १२ कम्पनीलाई कोष व्यवस्थापकको रुपमा लाइसेन्स प्रदान गरेको छ। जसमा मध्ये हालसम्म ८ कोष व्यवस्थापकले मात्र कोष व्यवस्थापनको अनुमति प्राप्त गरेका छन्।

८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?

सेबोनले अवसर इक्विटी लिमिटेड, अल्फा प्लस भेन्चर्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईएमबि एस क्यापिटल लिमिटेड, रिलायबल भेन्चर क्यापिटल लिमिटेड र नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई कोष व्यवस्थापनको लागि स्वीकृति प्रदान गरेको छ।

यी कम्पनीहरुले साढे ३० अर्ब रुपैयाँको कोष व्यवस्थापन गर्ने अनुमति प्राप्त गरेका छन्।

सबैभन्दा ठूलो कोष एनआईएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँ बराबरको एनआईबिल एक्विटी पार्टनर्स कोष व्यवस्थापन गरिरहेको छ। भने सबैभन्दा कम रकमको ५० करोड रुपैयाँको प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड–१ प्रभु क्यापिटलले व्यवस्थापन गरिरहेको छ।

यस कोष अन्तर्गतको रकम यी कम्पनीहरुले नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरुमा लगानी गर्न सक्छन्। यस्ता कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी रहन्छ । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार