बेइजिङ। घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको छ ।
यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भरपाइ गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्याङ्कले जनवरी–फेब्रुअरी अवधिमा चीनको निर्यात २१.८ प्रतिशतले बढेको देखाएको छ । यो वृद्धि अर्थशास्त्रीहरूले गरेको ७.२ प्रतिशतको पूर्वानुमानभन्दा निकै माथि हो ।
घरेलु उपभोक्ता गतिविधि सुस्त हुँदै गएको अवस्थामा निर्यातमा आएको यो वृद्धि विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि महत्त्वपूर्ण सहारा बनेको छ । यसले गत वर्ष हासिल गरिएको चीनको रेकर्ड व्यापार अधिशेषलाई थप विस्तार गरेको छ । पहिलो दुई महिनाको व्यापार तथ्याङ्क सामान्यतया चन्द्र नयाँ वर्षको बिदाका कारण हुने उतारचढावलाई समेटेर संयुक्त रूपमा सार्वजनिक गरिन्छ ।
यस पटकको तथ्याङ्कले मध्यपूर्वमा युद्ध सुरु हुनुअघि नै चीनको अर्थतन्त्रले सन् २०२६ को सुरुआत बलियो ढङ्गले गरेको सङ्केत दिएको छ । क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री जिचुन हुआङका अनुसार हालै अमेरिकी भन्सार शुल्कमा आएको कमी र सेमिकन्डक्टरप्रतिको उच्च मागका कारण चीनको निर्यात अझै केही समय बलियो रहन सक्ने सम्भावना छ ।
यद्यपि चीनको बढ्दो व्यापार अधिशेषलाई लिएर उसका प्रमुख व्यापारिक साझेदारहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । चिनियाँ उत्पादनले स्थानीय उद्योगहरूमा प्रतिस्पर्धात्मक दबाब बढाइरहेकाले उनीहरूले बेइजिङलाई आफ्नो व्यापार असन्तुलन घटाउन दबाब दिइरहेका छन् ।
भन्सार तथ्याङ्कले दुई महिनाको अवधिमा चीनबाट अटोमोबाइल, कपडा तथा घरेलु उपकरणजस्ता उत्पादनहरूको निर्यात उल्लेखनीय रूपमा बढेको देखाएको छ । यो तथ्याङ्क चीनका शीर्ष नेताहरू वार्षिक राजनीतिक बैठक ‘दुई सत्र’ मा सहभागी भइरहेका समयमा सार्वजनिक भएको हो । गत हप्ता सरकारले दशकौँयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिदर लक्ष्य घोषणा गरेको थियो ।
चीनको अर्थतन्त्रका प्रमुख चुनौतीहरूमध्ये घरेलु खर्चमा लामो समयदेखि देखिएको मन्दी पनि एक हो । महामारी समाप्त भएपछि पनि उपभोक्ता खर्च अपेक्षाअनुसार पुनः उकासिन सकेको छैन । तर आयाततर्फ भने केही सुधार देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार जनवरी–फेब्रुअरीमा चीनको आयात १९.८ प्रतिशतले बढेको छ । यो ब्लुमबर्ग सर्वेक्षणले अनुमान गरेको सात प्रतिशतभन्दा निकै माथि हो । यससँगै गत महिना उपभोक्ता मूल्य तीन वर्षयताकै तीव्र गतिमा बढेको तथ्याङ्क पनि सार्वजनिक भएको थियो ।
अर्कोतर्फ अमेरिकातर्फको चिनियाँ निर्यात भने ११ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर अभियानलाई तीव्र बनाएपछि यस्तो गिरावट देखिएको हो । गत वर्ष बेइजिङ र वासिङ्टनबीच व्यापार युद्ध चर्किएको थियो, जसका क्रममा केही सामानमा तीन अङ्कसम्मका पारस्परिक करहरू लगाइएका थिए । यद्यपि यसै महिनाको अन्त्यतिर ट्रम्प चीन भ्रमणमा जाने तयारीमा रहेका कारण दुई देशबीचको तनाव केही कम हुने आशा गरिएको छ । तथ्याङ्कअनुसार जनवरी–फेब्रुअरी अवधिमा अमेरिकातर्फ चीनको निर्यात ६७ अर्ब २४ करोड डलर पुगेको छ ।
यो अघिल्लो वर्षको सोही अवधिमा यो ७५ अर्ब ५६ करोड डलर थियो । त्यसै अवधिमा युरोपेली सङ्घ (इयु) तर्फ निर्यात २७.८ प्रतिशतले बढेको छ भने आसियान राष्ट्रहरूतर्फ २९.२ प्रतिशतले वृद्धि भएको छ । मध्यपूर्वको विकसित परिस्थितिले चीनको ऊर्जा आयातमा पनि प्रभाव पार्ने सङ्केत देखिएको छ ।
अर्थशास्त्री हुआङका अनुसार त्यहाँको द्वन्द्वले चीनको तेल आयात खर्च बढाउने सम्भावना छ, यद्यपि आयातको परिमाणमा ठूलो असर नपर्न सक्छ । अमेरिका र इजरायलले इरानविरुद्ध सञ्चालन गरेको युद्धका कारण तेलको मूल्य सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि देखिएको उच्चतम स्तरमा पुगेको छ ।
यसले विश्व अर्थतन्त्रप्रति चिन्ता बढाएको छ । यस द्वन्द्वका कारण विश्वको करिब पाँचौँ भाग तेल ओसार्ने महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरू लगभग बन्द भएको अवस्था सिर्जना भएको छ । यही तनावबीच विश्वकै सबैभन्दा ठूलो कच्चा पदार्थ आयातकर्ता चीनले जनवरी–फेब्रुअरी अवधिमा तेल आयात १६ प्रतिशतले बढाएको भन्सार तथ्याङ्कले देखाएको छ ।
पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेइ झाङका अनुसार निर्यातमा देखिएको बलियो वृद्धि चीनको बढ्दो व्यापार असन्तुलनप्रति चिन्तित व्यापारिक साझेदारहरूको तर्कलाई अझ बलियो बनाउनेछ । चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले पनि बेइजिङमा जारी ‘दुई सत्र’ राजनीतिक बैठकको सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देशको व्यापार सन्तुलित हुन आवश्यक रहेको स्वीकार गरेको थियो ।
उनका अनुसार निर्यात र आयात गाडीका दुई पाङ्ग्राजस्तै हुन् । “यदि यी दुई सन्तुलित भए भने मात्र गाडी सहज रूपमा अगाडि बढ्न सक्छ”, उनले भने । विश्लेषक झाङले बलियो निर्यात प्रदर्शन र सरकारले निर्धारण गरेको तुलनात्मक रूपमा कम आर्थिक वृद्धिदर लक्ष्यलाई हेर्दा चीनले निकट भविष्यमा ठूलो आर्थिक प्रोत्साहन कार्यक्रम ल्याउने सम्भावना कम रहेको सङ्केत दिएको बताएको छ ।


