काठमाडौं । विश्वका धेरै ठूला सहरमा वायु प्रदूषण गम्भीर स्तरमा पुगेको देखिएको छ । वायु गुणस्तर मापन गर्ने आईक्यू एयरका अनुसार प्रदूषित सहरको सूचीमा ढाका पहिलो स्थानमा रहेको छ भने दिल्ली दोस्रो स्थानमा छ । यता, काठमाडौं भने १७६ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ । यसले यहाँको वायु गुणस्तर अत्यन्त अस्वस्थकर अवस्थामा रहेको संकेत गर्छ ।
तथ्याङ्क अनुसार ढाकाको एक्यूआई १८९ र दिल्लीको १८६ रहेको छ । त्यसपछि काठमाडौँ १७६ एक्यूआई सहित तेस्रो स्थानमा छ । सूचीको चौथो स्थानमा कोलकाता (१६७), पाँचौँ स्थानमा बेइजिङ (१६५) र छैटौँ स्थानमा लाहोर (१६१) रहेका छन् । यसैगरी मुम्बई १४८ एक्यूआईसहित सातौँ स्थानमा परेको छ।
सूचीमा अफ्रिकाको डाकार १४७ एक्यूआईसहित आठौँ स्थानमा रहेको छ भने कोपेनहेगन (१३१) र चियाङ माई (१२४) क्रमशः नवौँ र दशौँ स्थानमा रहेका छन् । वायु गुणस्तर सूचकांक १५० भन्दा माथि पुगेमा मानिसका लागि स्वास्थ्य जोखिम बढ्ने विज्ञहरूले बताउँछन् ।काठमाडौंमा बढ्दो सवारी साधन, निर्माण कार्य, धुलो, औद्योगिक उत्सर्जन र मौसमीय अवस्थाका कारण प्रदूषणको स्तर उच्च हुँदै गएको विश्लेषण गरिएको छ ।
स्वास्थ्य विशेषज्ञहरूले यस्ता अवस्थामा अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र विशेष गरी बालबालिका, वृद्ध तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई सावधानी अपनाउन सुझाव दिएका छन् ।



