काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा गरेको चुनावी खर्चको विवरण निर्वाचन आयोग नेपालमा बुझाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिँदा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका हुन्।
उनीद्वारा बुझाइएको विवरणअनुसार उम्मेदवारी मनोनयन दर्तामा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ।
त्यसैगरी खाजा तथा मतदाता प्रशिक्षणमा १४ हजार २०० रुपैयाँ, २८ वटा वडामा वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ, प्रचार सामग्री (ब्याच, झण्डा) खरिदमा १ लाख १२ हजार रुपैयाँ र ब्यानर तथा स्टिकरमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यस्तै खाद्यान्न तथा राशनमा १ लाख ९६ हजार रुपैयाँ, तीन पटकको हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ र गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा जनाइएको छ। निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र चुनावी खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।



