CLI

सरकारी वित्त : आम्दानी भन्दा खर्च बढी, बजेट घाटा मात्र १ खर्ब ६१ अर्ब

काठमाडौं ।  चालु आर्थिक वर्षको ९ (साउन देखि फागुनमसान्त) महिनामा सरकारको आम्दानी भन्दा खर्च २१ प्रतिशतले बढी रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषण अनुसार चालु आवको ९ महिनाको अवधिमा सरकारको कुल आम्दानी अर्थात् रावस्व संकलन ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ४८.८९ प्रतिशत हो । चालु आवको लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी गर्ने सरकारको लक्ष्य रहेको थियो । जसलाई अर्धवार्षिक समिक्षामार्फत् सरकारले बजेटको आम्दानी र खर्च दुवै घटाएको हो ।

समीक्षा अवधिमा कर राजस्व ६ खर्ब ७६ अर्ब ५८ करोड र गैरकर राजस्व ७० अर्ब ६९ करोड ४८ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको क्रमशः ५१.०४ प्रतिशत र ४५.७८ प्रतिशत हो । वार्षिक लक्ष्य कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड र गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड रहेको छ ।

समीक्षा अवधिमा वैदेशिक सहायता संकलन १३ अर्ब २४ करोड ५० लाख र अन्य आम्दानी ४ अर्ब ५७ करोड ६१ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको वैदेशिक सहयाता संकलन २४.७८ प्रतिशत हो । वैदेशिक सहयातातर्फ वार्षिक लक्ष्य ५३ अर्ब ४४ करोड ६९ लाख रहेको छ ।

चालु आवको ९ महिनामा सरकारको खर्च ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख रहेको छ । जुन सरकारको आम्दानी भन्दा १ खर्ब ६१ अर्ब ४८ करोडले बढी खर्च हो । चालु आवको ९ महिनामा वार्षिक लक्ष्यको तुलनामा कुल खर्च ४७.१८ प्रतिशत हो । सरकारले चालु आवको ल ागि १९ खर्ब ६४ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखेको थियो भने पछि अर्धवार्षिक समीक्षामार्फत् यसको आकार घटाइएको थियो ।

समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ४२ अर्ब १४ करोड ५४ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको ५४.३७ प्रतिशत हो । चालु खर्चतर्फ वार्षिक लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोड रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत खर्च ७८ अर्ब ४८ करोड ८८ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको १९.२४ प्रतिशत हो । पुँजीगत खर्चतर्फ वार्षिक लक्ष्य ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रहेको छ ।
समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ २ खर्ब ५ अर्ब ९५ करोड खर्च रहेको छ । जुन वार्षिक लक्ष्यको ५४.८९ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ वार्षिक लक्ष्य ३ खर्ब ७५ अर्ब २४ करोड रहेको छ ।

Leave Your Comment

Related News