तेहरान। इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन ।
इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
अली लारीजानीको मृत्यु इरानका लागि ठूलो झट्का हो । करिब तीन हप्ता पहिले अमेरिका–इजरायल आक्रमणमा मारिएका लामो समयदेखि शासन गरिरहेका दिवङ्गत नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको र इरानी युद्ध रणनीतिमा समेत विशेष भूमिका रहेको थियो ।
दिवङ्गत खामेनीको अमेरिका–इजरायली आक्रमणमा भएको मृत्युसँगै मध्य पूर्वमा युद्ध भड्किएको थियो। इरानी संसदका सभामुख बागर गलिवाफले ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाज युद्धपूर्वको मापदण्डमा नफर्कने वाचा गरेलगत्तै सोमबारदेखि मङ्गलबार बिहानसम्म इरानी राजधानी तेहरानमा गरेको व्यापक हवाइ आक्रमणमा लारिजानीको मृत्यु भएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी गरिएको जलमार्गबाट तेल ट्याङ्करहरू पुर्याउन मद्दत गर्ने उनको आह्वानलाई अस्वीकार गरेकोमा सहयोगीहरूको आलोचना गर्दै अब यसका लागि कसैको सहयोग आवश्यक नपर्ने बताए । उनले अमेरिका यस कार्यका लागि आँफै सक्षम रहेको बताए ।
अयातोल्लाहका निकट व्यक्तित्व लारीजानीले युद्धमा इरानको प्रतिशोधात्मक अभियानको नेतृत्व गरेका थिप । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्युको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा भनेको छ, “इरानको विकास र इस्लामिक क्रान्तिका लागि जीवनभरको सङ्घर्षपछि अन्ततः उनले आफ्नो लामो समयदेखिको आकाङ्क्षा पूरा गरे ।
ईश्वरीय आह्वानको जवाफ दिए र सम्मानपूर्वक सेवाको क्रममा शाहदत प्राप्त गरे ।” लारिजानीको मृत्युबाट हौसिएको इजरायली सेनाले २८ फेब्रुअरीमा आफ्ना पिताको मृत्युपछि सत्ता सम्हालेका सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि समाप्त गर्ने प्रतिबद्धता जनाएको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले पत्रकारहरुसँग भने, “हामीलाई मोजतबा खामेनी सर्वोच्च नेता चुनिएपछि उहाँबारे जानकारी छैन, हामीले उहाँको आवाज सुनेका छैनौँ र देखेका पनि छैनौँ । तर हामी उहाँलाई खोज्नेछौँ, पत्ता लगाउनेछौँ र आवश्यक कारबाही गर्नेछौँ ।


