CLI

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

जुम्ला। जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ ।

जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका आठ वटै स्थानीय तहका कक्षा ६ का एक हजार १६५ र विद्यालय नजाने १० वर्ष उमेरका ११२ गरी एक हजार २७७ जनालाई एचपिभी खोप दिने तयारी भएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार खोप सञ्चालनका लागि ८४ वटा खोप केन्द्र कायम गरिएको छ । उक्त अभियानमा चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१ जना छात्रालाई एचपिभी खोप दिने कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

त्यसैगरी तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका ५३८ जनालाई खोप दिने उहाँले बताउनुभयो । खोप अभियान विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गरेर सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

Leave Your Comment

Related News