CLI

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले दर्ता गराए विवरण

काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १ सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले विवरणबारे जानकारी दिएका हुन्। अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएको क्षेत्रीले बताए। तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ।

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको उनले बताए। श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको उनको भनाइ छ।

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत क्षेत्रीले बताए। ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनले बताए।

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको प्रवक्ता क्षेत्रीले बताए।

Leave Your Comment

Related News