CLI

दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

त्रिवेणी ।पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज एक सूचना जारी गरेको हो ।

सो सूचनामा पानी पर्दा यातायात सञ्चालनमा समस्या हुने हुँदा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालन गरेमा थप समस्या निम्तिन सक्ने उल्लेख गरिएको छ ।

सो सूचनाअनुसार यही चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो । छोटा तथा लामो दुरीका यात्रुवाहक बस र अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिने बताइएको छ ।

सडक योजनाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । आज दिउँसोदेखि भएको वर्षाले उक्त सडक खण्डमा चिप्लो हुँदा सवारीको जाम लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।

Leave Your Comment

Related News