ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले आगामी साउन १ देखि लागू हुने गरी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिनादेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् । चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बीडीओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एसिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव छ । उनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा पूर्वसञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि भएका थिए ।

यसका साथै बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नवनियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरु गरी विभिन्न वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन् । विगत सात वर्षदेखि यस विकास बैंकमा आबद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।

बैंक कार्यसम्पादन गर्नेहरूको लागि उर्वराभूमि बनाउने ध्येयअनुरूप कार्य गर्दै आएको छ । साथै बैंकले सोका लागि आवश्यक पर्ने समुचित वातावरण र संस्थागत संस्कृति स्थापना गरेको छ । यसैको फलस्वरूप, उनीहरूको अद्वितीय योगदानको कदरस्वरूप उनीहरूलाई पदोन्नति गर्ने बैंकले निर्णय गरेको हो । उच्च कार्यसम्पादनको समयमै समुचित प्रतिफल दिने तथा यसलाई साधकको रूपमा ग्रहण गरी बैंकलाई पर्फमर्स प्याराडाइज बनाउने दीर्घकालीन साध्य हासिल गर्नमा यो पदोन्नति कोशेढुङ्गा साबित हुने विश्वास बैंकले लिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यो बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । सोही मान्यताअनुरूप बैंकले नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी र सहयोगले हालसम्म करिब आठ सय ५० भन्दा बढी नेपाली शिशुहरुको जीवनरक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने असाध्यै महत्वपूर्ण क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै आएको छ ।

संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन प्रतिबद्ध रहेको बैंकले जनाएको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार