काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीबाट आफ्नो शल्यक्रिया सफलतापूर्वक सकिएको बताएकी छन्। अब डाक्टरको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु हुने बताएकी छन्।
न्युजिल्याण्डको विलिंटन फिनिक्सबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्। खेलको दोस्रो हाफको अन्त्यतिर बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपर क्लोई लिंकनसँग ठोक्किँदा उनको दायाँ घुँडामा चोट लागेको थियो ।


